
लुसाका, जाम्बिया । नेपाल दूतावास, दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा नेपाल भ्रमण बर्षको कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका पर्यटक स्थलको जानकारी दिने वृत्तचित्र, नेपाली हस्तकलाका सामग्री प्रदर्शन र नेपालको पर्यटन सम्बन्धमा जानकारी दिने मन्तब्य र अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमको दक्षिण अफ्रिकाका लागि नेपालका कार्यवाहक राजदूत घनश्याम लम्सालले शुभारम्भ गरेका थिए । उनले नेपाल पर्यटन बर्षको बारेमा जानकारी दिदै, नेपाल भ्रमण गर्न उपस्थित पाहुनालाई आग्रह गरेका थिए ।
एनआरएनए जाम्बियाका पूर्वअध्यक्ष डा.विशाल उप्रेतीले नेपालका पर्यटन स्थल र आकर्षक स्थलका बारेमा जानकारी दिएका थिए ।
एनआरएनए जाम्बियाका अध्यक्ष प्रमोद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, एनआरएनए जाम्बियाका संस्थापक अध्यक्ष र संरक्षक बिदुर खनालले अफ्रिकास्थित कूटनीतिक, युएनसेवा, गैरसरकारी संस्था, प्रवासी समुदाय र अफ्रिकनहरू लाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।
उक्त अवसरमा नेपाल भ्रमण गरेका विदेशहरुले नेपालको सुन्दरता र आफ्ना भ्रमण अनुभव सुनाएका थिए । कार्यक्रममा जाम्बिया सरकारका प्रतिनिधि, सयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि, स्थानीय उच्चपदस्थ ब्यक्तित्वलगायत नेपाली समुदायको उपस्थिति थियो ।
कार्यक्रम परिसरमा राजिव मुनकर्मीले नेपाली हस्तकलाका सामग्री प्रदर्शनको संयोजन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्