
काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको १४ औं महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।
उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा शुक्रबार उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको छ ।
कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ । कार्यक्रमस्थलको प्रवेश विन्दुमा प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको छ ।
ठाउँठाउँमा सिसीक्यामेरा जडान गरिएको र त्यसको नियन्त्रण तथा अनुगमन महानगरीय प्रहरी कार्यालय र नगर प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । ड्रोन क्यामेराको समेत प्रयोग गरेर निगरानी हुनेछ । प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ ।
भिभीआइपी र भिआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशन सुरक्षाका लागि सादा पोशाकमा पनि प्रहरी परिचालित हुनेछन् पैदल, मोबाइल गस्ती नियमित रहनेछन् । आवश्यक थप मद्दत टोलीसमेत व्यवस्थापन गरिएको छ ।
यसैगरी सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको छ ।
कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृह मोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ । टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलंकी, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ ।
महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्र तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्