
नरेन्द्र मानन्धर
काठमाडौ । नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक छटाले सबैलाई लोभ्याउँने गरेको छ । यहाँको हजारौं वर्ष पुरानो मौलिक सभ्यता, कला संस्कृति, भाषा, जनजीवन विदेशीहरुको लागि समेत प्रेरणाको स्रोत बनेको छ । ती मध्ये ७१ वर्षिया रसियन चित्रकार लिलिया स्लेभिन्सकायालाई पनि नेपालको प्राकृतिक छटाले सधैं लोभ्याउँदै आएको छ ।

५ दशक कला क्षेत्रमा आफनो अमूल्य जीवन बिताईसक्नु भएकी लिलिया सन् २०१२ मा पहिले पटक नेपाल घुम्न आउनु भएको थियो । उहाँले हाल सम्म १२ औं पटक नेपाल आएर घुम्ने क्रममा हिमाल, पहाड र तराईलाई आफनो क्यानभासमा उतारी सक्नु भएको छ । कलामा प्राध्यापन समेत गर्नु हुने लिलियाले घुम्ने क्रममा नै “अन द स्पट” चित्रकला कोर्ने गर्नुहुन्छ । मुख्य रुपमा पानी, तेलीय र आइक्लेरिक माध्यमबाट चित्र कोर्न पोख्त उहाँले नेपाल बसाईमा सयांै चित्र सृजना गरिसक्नु भएको छ । यसपटक यहि मंसिर महिनाको पहिलो हप्ता नेपाल आउनुभएकी लिलिया कागबेनी, पोखरा, चितवन र बन्दीपुर घुम्न निस्किनु भएको थियो । उहाँले त्यसक्रममा क्रममा २० वटा चित्र कोर्नुभएको छ ।


ती स्थानहरु घुमेर काठमाडौं फर्किनु भएपछि लिलियाले इमेजखबरसँग खुसी भएर आफुले कोरेको चित्र देखाउदै बेलीबेस्तार लगाउनुभयो । उहाँले भन्नुभयो– “नेपालको प्रकृति, सभ्यता, कला संस्कृति र जनजीवनले सधैं मलाई तानिरहन्छ,नेपाल प्रतिको मोह झन प्रगाढ हुदैछ, नेपाल सँग प्रेम छ।”
उहाँले विगतको संम्झना गर्दे रुसको प्रसिद्ध नदी भोल्गा किनाराको रोमञ्चित क्षणहरुको अनुभव पनि ईमेजखबरसँग बाड्नुभयो । भोल्गा नदी आफ्नो प्रेरणाको स्रोत भएको उहाँको भनाई छ । तर नेपालको वाग्मती सभ्यताको केन्द्र, काठमाडौ उपत्यका र वाग्मति नदीको दुर्दशा देखेर भने लिलियाले आफू दुःखी भएको सुनाउनुभयो ।

उहाँले यस वर्ष घुम्ने क्रममा आफूले कागबेनी, पोखरा, चितवन र बन्दीपुरको प्रकृति तथा जनजीवन क्यानभासमा कोरेको बताउनुभयो । उहाँले आफूले नेपालकाबारे यसअघि कोरेका चित्रहरु रसियामा कयौं पटक कला प्रर्दशनीमार्फत पूदर्शन गरिसक्नु भएको छ । उहाँले नेपालमा पनि त्यसैगरी चित्रकला प्रर्दशनी गर्ने इच्छा देखाउनुभयो । “ म नेपालको प्राकृतिक सौन्दर्यलाई रसियामा चित्रकला मार्फत रसियन कलापारखी र नागरिकलाई देखाउन चाहन्छु। रसिया र फ्रान्समा आफुले लेजोरियाद आर्ट ग्यालरी मार्फत कला व्यवसाय समेत गरिरहेको छु, जसमा नेपाललाई प्राथमिकता दिएको छु ” लिलियाको भनाई छ ।

दुई जना छोरी र पाँच जना नाती नातिनाहरु सहित पारिवारीक जीवन विताइरहनु भएकी लिलिया अर्को वर्ष पनि नेपाल आउन चाहनुहुन्छ। सात दशक काट्नुभएकी लिलियाको डोल्पा र लोमान्थानमा गएर चित्र कोर्ने सपना छ। “स्वास्थ्यले साथ दियो भने म फेरी फेरी नेपाल आउने छु र चित्र कोर्ने छु।” लिलियाले इमेजखबरसँग भन्नुभयो ।





प्रतिक्रिया दिनुहोस्