
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गर्नु भएको छ ।
भृकुटीमण्डपमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नकटाउने भन्दै दोस्रो चरणमा देउवा इतरका सबै प्रत्यासी एक ठाउँमा उभिने बताउनुभयो ।
दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा आफूसहित सभापतिका अन्य उम्मेदवारहरूले जसको बढी मत आउँछ उसैलाई सघाउने उहाँले बताउनुभयो ।
रामचन्द्र पौडेललाई सभापतिमा निर्विरोध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने निधिको भनाइ थियो । सहमतिका लागि निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको उहाँले बताउनुभयो ।
कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने दाबी गर्दै निधिले त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने जिकिर गर्नुभयो । यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्