
मानबहादुर वली
सुर्खेत, मंसिर २६ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजार मंगलगढी चोकदेखि गणेशचोकसम्मको सडक स्तरोन्नतिमा समस्या आएको छ । बिद्युत पोलका कारण अघिल्लो आर्थिक बर्षमै हुनुपर्ने सडकको स्तरोन्नति अझै सुरु हुन नसकेको हो ।
नेपाल विद्युत प्राधिकरणले सडकमा रहेका पोल नहटाउँदा सडकको स्तरोन्नतिमा ढिलाइ भएको हो । हाल विद्युतका पोलहरु सडकसँगै जोडिएका छन् । सडकको स्तरोन्नति गर्दा विद्युतका पोलहरु अहिलेको स्थानभन्दा केही पछाडि राख्नुपर्ने हुन्छ । साघुरो सडकभित्रै पार्किङ, फुटपात र अन्य व्यवसायहरु सञ्चालन भएका कारण पनि सडकमा समस्या हुने गरेको छ । सडकको स्तरोन्नतिका लागि पूर्वाधार विकास निर्देशनालयले २०८० जेठ मसान्तमा काम सम्पन्न हुने गरी बाँकेको खड्का निर्माण सेवासँग १३ करोड ६७ लाख ८१ हजार दुईसय ४० रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
निर्देशनालयले भने विद्युत प्राधिकरणलाई पोल स्थानान्तरणमा लाग्ने बजेटको इस्टिमेट अनुसारको बजेट ट्रान्सफर गरि सकेको छ । रकम निकासा भइसक्दा समेत विद्युत प्राधिकरणले समयमै काम गर्न नसक्दा ठेक्का भएको ४ महिनासम्म पनि काम हुन नसकेको पूर्वाधार निर्देशनालय सुर्खेतका इञ्जिनियर सूर्यबहादुर शाहीले बताउनुभयो ।
बजार क्षेत्रको सडक स्तरोन्नतीका लागि १८ करोड स्वीकृत भएकोमा खानेपानीको पाइपहरु पछाडि सार्न ४५ लाख, विद्युतको पोलहरु व्यवस्थापनमा करिव सवा ८६ लाख र सडक चौडा बनाउनका लागि १३ करोड बढी खर्च हुने छ । यता, विद्युत प्राधिकरण सुर्खेत शाखाले भने बजार क्षेत्र साधुरो भएकाले विधुतका पोल पछाडि सार्ने ठाउँ देखाइदिन निर्देशनालयलाई चुनौती दिएको छ । विद्युतका पोल पछाडि सार्न दुई दुई पटक टेण्डर भइसक्दा समेत ठाउँको अभावले निर्माण कम्पनीले काम गर्न नसक्ने भन्दै टेण्डर प्रक्रियामा भागनै नलिएको बिधुत प्राधिकरण सुर्खेत बितरण केन्द्रका प्रमुख युवराज रावतले बताउनुभयो ।
बजारका साघुँरा सडक क्षेत्र र घरका कारण विद्युतका पोलहरु पछाडि सार्न असंभव जस्तै छ । सरकारी निकायहरुकै समवन्वयको अभावमा साघुँरो सडकलाई फराकिलो बनाउन निकै सकस हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्