
अक्कल कुँवर
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा २०७२ सालमा सम्पन्न १३ औं महाधिवेशनपछि पार्टीभित्र बनेका गुट उपगुट भत्किएर नयाँ गुट उपगुट निर्माण भएका छन् । पार्टीभित्र गुट उपगुट भत्किनु र नयाँ बन्नु राजनीतिमा सामान्य विषय भएपनि नेपाली राजनीतिको मियोको रुपमा रहेको कोइराला परिवार १४ औं महाधिवेशनमा आएर विभाजित समेत बन्न पुगेको छ । जारी महाधिवेशनमा कोइराला परिवारमा आएको फाटोलाई असामान्य रुपले हेरिएको छ । यसले सातदशकअघि संस्थापक नेता बीपी कोइराला र मातृकाप्रसाद कोइरालाको फुटलाई स्मरण गराउँछ ।
१३ औं महाधिवेशनपछि संस्थापनइतरको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेपनि उक्त समूहभित्र कोइराला परिवार नै निर्णायक थियो । इतर समूहमा विपी पुत्र महामन्त्री डा. शशांक कोइराला, केशव पुत्र केन्द्रीय सदस्य डा. शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइराला थिए । १४ औं महाधिवेशनमा कोइराला परिवार एकजुट भएर जाने प्रतिवद्धता स्वयंले पटक पटक गरेका थिए । तर, कोइरला परिवारका तीनजना सदस्य तीनतिर फर्किएका छन् । केशव पुत्र शेखरले प्यानलसहित सभापतिको उम्मेद्वारी दिँदा कोइराला परिवारका अन्य दुई सदस्य समेटिन सकेनन् । गिरिजा पुत्री सुजाता शेखर प्यानल छोडेर गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेद्वारी दिन पुगिन् । विपि पुत्र डा. शशांक न शेखरको उम्मेद्वारीमा देखा परे न त सुजाताको उम्मेद्वारी दर्तामा नै । अर्थात मुलुकको राजनीतिक मियोको रुपमा रहेको कोइराला परिवार ७० वर्षपछि विभाजन भएको छ । कोइराला परिवार फुटेको छैन् एक जुट भएको नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला बताउनुहुन्छ ।
त्यसो त संस्थापनइतर पक्षबाट सभापतिको उम्मेद्वार चयन गर्न भएको लामो रस्सा कस्सीमा पनि कोइराला परिवार एक ठाउँ हुन सकेनन् । विपी पुत्र शशांक रामचन्द्र पौडेललाई सभापतिको उम्मेद्वार मान्न तयार भए तर कोइराला परिवारकै सदस्य डा. शेखरलाई उम्मेद्वार बनाउन तयार भएनन् । अघिल्लो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित डा.शशांक १४ औं महाधिवेशनमा सभापतिका स्वाभाविक उम्मेद्वार भएपनि शेखरले आफ्नो प्यानलमा पदाधिकारीसम्म ल्याएनन् ।
यसअघि नेपाली कांग्रेस स्थापनाको सुरुवातमै संस्थापक विपी कोइराला र मातृकाप्रसाद कोइरालाको झगडाले कोइराला परिवार विभाजन भएको थियो । त्यसपछिका वर्षहरुमा सामान्य आन्तरिक मनमुटाव बाहेक कोइराला परिवार एक ढिक्का थियो । कोइराला परिवारसँग नजिक रहनुभएका कांग्रेसका पुराना नेता तारणीदत्त चटौत कोइराला परिवारभित्रको पछिल्लो अवस्था सामान्य भएको जिकिर गर्नुहुन्छ ।
अल्पकालिन अर्थात दिर्घकालिन जे भएपनि राजनीतिक र प्रजातान्त्रिक आन्दोलनको इतिहासको बिम्वको रुपमा रहेको कोइराला परिवारको तितरवितरले नेपाली राजनीतिको लागि सुखद भने होइन् ।
प्रतिक्रिया दिनुहोस्