
काठमाडौं, माघ १४ । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले ठूलो धक्का आउँदै छ भनेर प्रधानमन्त्रीले के भन्न खोजेको हो प्रष्ट गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको मंगलवार बसेको बैठकमा नवनियुक्त सभामुख अग्नि सापकोटालाई बधाई दिँदै नेता देउवाले कसले के धक्का दिन खाजेको हो ? कस्तो धक्का भन्न खोजेको ? त्यस्तो धक्का दिने कसको हिम्मत ? भन्दै प्रश्न गरेका हुन् ।
बैठकमा देउवाले सरकारले लोकतन्त्र विरोधी विधेयक ल्याएको भन्दै त्यस्ता विधेयक पारित गर्न नदिने चेतावनी दिए । कांग्रेस निर्वाध प्रेस स्वतन्त्रताका पक्षमा रहेको भन्दै प्रेस स्वतन्त्रता विरोधी विधेयक पारित गर्न नदिने चेतावनी उनले दिएका हुन् ।
यसैगरी देउवाले मानवअधिकार, नागरिक स्वतन्त्रता, व्यक्तिगत गोपनीयताको हक विरुद्धका विधेयक पारित गर्न नदिने प्रष्ट गरे । लोकतन्त्र विरोधी व्यवहार नगर्न सरकारलाई उनले सचेत गराए ।
एमसीसी आफ्नै पालामा क्याबिनेटले पारित गरेको स्मरण गर्दै नेता देउवाले नेपालले यति धेरै ठूलो सहयोग कहिल्यै प्राप्त नभएकाले पारित गर्न ढिला नगर्न आग्रह गरे ।
विकासका लागि आर्थिक सहयोग जरुरी पर्ने भन्दै उनले नेपालको बिजुली विदेशमा बेच्ने हो भने एमसीसी पारित गर्नुको विकल्प छैन भने । बुटवल गोरखपुर अन्तर्राष्ट्रिय ट्रान्समिशनका लागि भारतीय पक्षले कामै थालिसकेको भन्दै देउवाले हामीलाई नै फाइदा पुग्ने विषयमा पनि किन रोक्ने ? छिटो पारित गराऔं भने ।
अमेरिकाले सैन्य गठबन्धन होइन भनिसकेको र चीनले आपत्ति छैन भनेको अवस्थामा अब के को ढिला ? देउवाले प्रश्न गरे ।
उखु कृषकहरुले आफ्ना उत्पादनको पैसा नपाएको विषय उठाउँदै उनले तत्काल कृषकलाई पैसा दिलाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आफ्नो पार्टीको समर्थन रहने भन्दै देउवाले सभामुखबाट पनि यस विषयमा सहयोगको अपेक्षा रहेको बताए ।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि २४ घन्टे हेल्थ डेस्क राख्न आग्रह गर्दै नेता देउवाले चीनमा भएका नेपालीको सुरक्षाका लागि ध्यान दिन आग्रह गरे ।
नेता देउवाले निकै कठीनपूर्वक सभामुख बनेकामा सापकोटालाई बधाई दिँदै उनले पार्टीभन्दा माथि उठेर काम गर्न शुभकामना दिए । उनले कृष्णप्रसाद भट्टराईदेखि दमननाथ ढुंगानासम्मले कायम गरेको इतिहास सम्झेर काम गर्न सल्लाह दिए । संसद प्रतिपक्षको हुने भएकाले विश्वासमा लिएर काम गर्न उनको सभामुखसँग आग्रह थियो ।
प्रतिक्रिया दिनुहोस्