१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेलिकप्टर आयो, नेता आए, आश्वासन आयो तर राहत आएन


156
Shares

कैलाली । सुदूरपश्चिममा गत असोजमा आएको बाढीका कारण क्षति बेहोरेका किसानहरूले अझै राहत पाउन सकेका छैनन् ।

बाढीपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले हेलिकप्टरबाट विभिन्न ठाउँको अवलोकन गरेर राहत बाँड्ने आश्वासन दिए पनि किसानले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

बाढीका कारण यहाँ धान लगायत अन्य बाली तथा पशुचौपायको समेत क्षति भएको थियो । संघिय र प्रदेश सरकारको टोलीले राहत बाड्ने आश्वासन दिएकोे महिनौं बितिसक्दा पनि राहतको नामको सुक्को नपाउँदा किसानहरू निरास भएका छन् ।

टीकापुरका किसान कृष्णगोपाल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताउनुहुन्छ ।

धान, अन्य बाली र पशुपन्छीमा गरी ६ अर्ब ९६ करोड ८९ लाख २६ हजार बढीको क्षति भएको प्रदेश सरकारले जनाएको छ । बाढीले वितण्डा मच्चाएका बेला प्रदेश सरकारले किसानहरूलाई राहत उपलब्ध गराउने आश्वासन दिए पनि हालसम्म त्यसतर्फ ठोस निर्णय गरेको छैन ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशभर कुल २ लाख २ हजार ४ सय ५ हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो ।

जसमध्ये मध्ये बाढीले ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा ६ अर्ब ७६ करोड ३२ लाख बराबरको क्षति गरेको मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहरा बताउनुहुन्छ ।

आलु, तोरी र मसला बालीमा २२ करोड भन्दा बढी क्षति भएको छ । बेमौसमी वर्षाले सुदूरपश्चिममा पशुपन्छीमा पनि करोडौंको क्षति भएको विवरण छ ।