
इलाम । निकै तामझामका साथ उद्घाटन गरिएको इलामको इलाम नगरपालिका–११ सोयाकस्थित सोयाक खानेपानी आयोजनाबाट स्थानीयले ठूलो आशा गरेका थिए । उद्घाटनको क्रममा नगरप्रमुख महेश बस्नेतले पानीको समस्या दीर्घकालीन रूपमा समाधान गरेको बताउनुभएको थियो ।
नगरप्रमुख बस्नेतको आश्वासनले हर्षविभोर र उत्साहित स्थानीय तीन महिनामै निराश बने । डिप बोरिङमार्फत निकालिएको पानी उनीहरूले राम्ररी पिउन समेत पाएनन् । अहिले डिप बोरिङले कामै गर्न छाडेपछि हरेक घरमा जडान गरिएका धारामा सुख्खा लागेका छन् । स्थानीय काकाकुल बनेका छन् ।
खानेपानीको जोहो गर्न स्थानीयलाई सास्ती मात्र भएको छैन, खानेपानीकै समस्याका कारण बसाईं सर्ने मनस्थिति बनाइसकेका छन् । पहाडको डाँडामा रहेको गाउँबाट खानेपानीकै समस्याका कारण धेरै परिवार विस्थापित भइसके ।

बसाइसराइ रोक्न भन्दै नगरपालिकाले डिप बोरिङ मार्फत करिब दुई सय घरधुरीका लागि खानेपानीको योजना बनायो । जसका लागि नगरले करिब अढाई करोड खर्च गर्यो । यति ठूलो रकम खर्चिँदा समेत खानेपानी नपाएपछि स्थानीय मर्कामा परेका छन् ।
सडकको कुनामा गाडिएको डिप बोरिङका मेसिन कुन अवस्थामा छ यसै भन्न सकिने अवस्था छैन । प्राविधिक सर्वेअनुसार डिप बोरिङ नगरिएको स्थानीयको आरोप छ ।
डिप बोरिङ असफल भएपछि नजिकैकोे खोल्सीबाट लिफ्टीङ गरेर केही घरपरिवारलाई पानी वितरण गरिएको छ । तर, त्यहि पानी पनि स्थानीयले समयमा पाउँदैनन् । पानीको मुहानमा घेराबारा नहुँदा स्थानीय दुषित पानी पिउन बाध्य छन् ।
संघीय सरकारबाट अनुदानस्वरूप प्राप्त दुई करोड २४ लाख तथा बाँकी इलाम नगरपालिका र उपभोक्ता समितिबाट गरी दुई करोड ४७ लाख रुपैयाँको लागतमा यो खानेपानी आयोजना आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्