
काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टका बारेमा गरिएको विवाद व्यापारिक घरानाको स्वार्थसँग सम्बन्धित रहेको आरोप लगाएका छन् ।
केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले व्यापारी घरानाबीचको अस्वस्थ प्रतिस्पर्धामा सरकार नपर्ने भन्दै गोकर्ण रिसोट राजाले विदेशीलाई दिएको तर अहिले नेपालीले पाएको तर्क गरे ।
के त्यसो भए रिसोर्ट बन्द गर्नुपर्ने ? भन्ने प्रश्न गर्दै उनले भने, ‘समय अवधि अगाडि नै दिइएको भन्ने कुरा आएको छ । त्यसरी दिन मिल्छ । गोकर्ण रिसोर्ट विदेशीलाई दिइएको थियो । अहिले नेपालीलाई दिइएको छ । के गोकर्ण रिसोर्ट बन्द गनुपर्छ भन्ने हो ?’
सरकारले विभिन्न स्थानका सरकारी जग्गा यति होल्डिङसलाई भाडामा दिँदा नीति, नियम र कानुनअनुसार नै दिएको दाबी पनि उनले गरे ।
‘यती होल्डिङ्स हाम्रो घनिष्ट र मितेरी साइनो हो कि भन्ने व्याख्या गर्न थालिएको छ । मदन भण्डारीले पासाङ ल्हामुलाई बिदाइ गरेको फोटोसमेत जोडेर अहिले आलोचना गरिएको छ । उहाँले शुभकामना दिएर पठाउनुभएको थियो । त्यसलाई पनि जोडेर ल्याइएको छ । १२ वर्षअघि कोङ्दे रिसोर्ट बन्यो अहिले ल्याइएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कालीमाटीको जग्गा लिजमा दिइएको रहेछ । शेरबहादुरजीको पालामा दिइएको छ । प्रक्रिया पुर्याएरै दिइएको रहेछ । तर अहिले विरोध भइरहेको छ ।”
नारायणहिटीअघिको जग्गा पनि त्यसैगरी विवादमा ल्याइएको भन्दै उनले भने, ‘नारायणहिटीअघिको जमिन दिनुहुन्थ्यो कि हुँदैनथ्यो अर्को विषय भयो । दिने नीति लिएर दिएको छ भने के को विरोध ? अहिलेको सरकारले होइन पहिलेको सरकारले दिएको हो । ६ अर्ब लिज पर्ने एक अर्बमा दिइयो भनिएको छ । जमिनकै मूल्य हेर्दा पनि त्यो होइन । लेख्ने मान्छेले १ अर्ब ४० करोड लेख्न पर्नेमा ६ अर्ब लेखेको रहेछ । बाइमिस्टेकले लेखेको रहेछ । ६ अर्बका दरले एक रोपनी जग्गा होला त्यहाँ, त्यो मूल्य पनि पर्दैन । आनाको कति पर्छ ? मूल्य पनि नपर्ने कुरामा भूलचुकले लेखिएको विषय त्यो पनि अघिल्लो सरकारका पालामा गरिएको छ तर अहिलेको सरकारलाई आरोप लगाइएको छ ।’
प्रतिक्रिया दिनुहोस्