
गोकुल भुजेल
भोजपुर, मंसिर २९ । तपाईं के बन्न चाहानुहुन्छ ? नयाँपुस्तालाई यो प्रश्न सोध्ने हो भने अधिकांशको उत्तर हुन्छ– डाक्टर, ईन्जिनियर, पाइलट । अपवादले भन्लान म आफ्नै जन्मदिने बाबुआमा जस्तो बन्न चाहान्छु । तर, भोजपुरका ब्याडमिन्टन खेलाडी दानबहादुर तामाङ यस्ता भाग्यमानी पिता हुन, जसले आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनको अन्तर्राष्ट्रिय खेलाडी बनाए । तामाङका तीन सन्तान सरादेवी, नक्सलदेवी र रत्नजितले बाबुको पदचाप पछ्याएका छन् ।

दानबहादुर कुनै समय शिक्षक थिए । ३५ वर्षअघि हातमा चक डस्टर र ढाडमा ब्याडमिन्टन बोकेर हिँडनु दैनिकी थियो । पहाडको ठाउँ खेल खेल्ने समतल मैदान थिएन । खेतबारी, बाटाघाटा जहाँ हुन्थ्यो, त्यसैलाई खेल मैदान बनाउँथे । त्यो बेला भलिबल र फुटबलबाहेकका खेलप्रति मानिसको मोह थिएन । त्यसै पनि ब्याडमिन्टन खर्चालु खेल थियो । ब्याडमिन्टन त खेल्ने तर कोसँग ? दानबहादुरले आफ्नै सन्तानलाई साथी बनाए । संघर्षका दिनलाई उनी यसरी सम्झन्छन् । त्यो समयमा उनीसँग राम्रो बयाडमिन्टन पनि थिएन ।
अचम्म त दानबहादुरका कुनै प्रशिक्षक छैनन् । तर उनकै उत्प्रेरणाका कारण उनका छिमेकी नविन श्रेष्ठ, विवेक श्रेष्ठ, सीता राईलगायत आठजना राष्ट्रिय खेलाडी बनेका छन् । देशकै उत्कृष्ट हुन दुई दिदीबहिनी र भाइबीच प्रतिस्पर्धा चल्छ । दानबहादुर आफू मात्र हैन अरुलाई पनि खेलका लागि उत्साह भर्छन । अहिले त के सरकारी हाकिम, के राजनीतिकर्मी सबैमा ब्याडमिन्टनको नसा छ । बयाडमिन्टन खेल्नकै लागि कभर्ड हल बनेको छ । आफ्नो व्यक्तित्व विकासमा बाबुको योगदान ठूलो रहेको कान्छी छोरी नक्सलदेवी तामाङ बताउछिन् ।
भोजपुरलाई ब्याटमिन्टन खेलाडी उत्पादन थलोका रुपमा स्थापित गर्न दानबहादुर तामाङले खेलेको भूमिका प्रेरणादायी छ । अहिले पनि उनको उत्साहमा थोरै पनि कमी आएको छैन । व्यवसायिक खेलाडी जन्माउने उनको धोको सेलाएको छैन । तर नयाँपुस्तामा देखिने इच्छाशक्ति र अनुकूल वातावरण अभाव उनको अभियानका बाधक बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्