
काठमाडौं, मंसिर २९ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको छ ।
बुधबार जनकपुर पुग्नुभएकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको हो ।
ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउने तर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नुहुन्छकि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
ओलीले आफुले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उहाँको भनाई छ । उहाँले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री झाक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप लगाउनुभयो । एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उहाँको भनाई छ ।
उहाँले एमाले निरन्तर ओरालो लागेको जिकिर गर्नुभयो । मन्त्री झाक्रीले श्रमजिवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा(एकीकृत समाजवादी) भएको दाबी पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्