४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट, अधिकांश समूह राताम्मे


117
Shares

काठमाडौं, पुष १ । साताको अन्तिम दिन बिहीबार पुनः शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

नेप्से पुनः २३ सयको लाइनमा आइपुग्यो । मंगलबार सकारात्मक सर्किट लागेको बजार हिजो सामान्य अंकले ऋणात्मक रहेकोमा बिहीबार ३७ अंकको गिरावट आयो ।

उतार चढावबीच नेप्से ३७ अंकले घटेर २३ सय ७६ मा आएर थामियो । अधिकांश समूह राताम्मे रहँदा कारोबार पनि सवा २ अर्ब हाराहारीमै सीमित भयो । मात्र सामुहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।

बीमा समूहमा अढाई सय अंक बढीको गिरावट आयो । विकास बैंक समूह पनि डेढ सय अंकले ओरालो लाग्यो । अरु पनि अधिकांशजसो समूह दोहोरो अंकले घटे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको ५३ लाख ८० हजार कित्ता बराबर शेयर २ अर्ब ३० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ६९ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा मात्र १८ को बढ्यो भने २ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।