१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैरसरकारी संस्थालाई तत्काल सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्री निर्देशन


377
Shares

काठमाडौं, पुष २ । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनु भएको हो ।

उहाँले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पार्नु भयो । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाई थियो ।

गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढि, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा गर्नु भयो । उहाँले गैर सरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोही अनुसार सहजीकरणको कामलाई अघि बढाउने बताउनुभयो ।