
काठमाडौं, पुष २ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले ८ महिनाभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भएको छ ।
मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी समेत दिनुभयो । शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा संचालक संघ, नेपालको २१ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराउनुभयो ।
मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढि काम गरेको भन्दै प्रशंशा पनि गर्नुभयो । कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरुको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताउनुभयो ।
उहाँले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउने नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको पनि बताउनुभयो ।
कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्