१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रतिनिधिसभामा आठ आयोगको प्रतिवेदन पेश


0
Shares

काठमाडौं, माघ १७ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।

प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन गरे ।

यसैगरी लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आर्थिक बर्ष २०७५–०७६ प्रथम वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

यसैगरी बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपाका सांसद गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराए ।

मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपाका सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो भन्दै जिज्ञासा राखे ।

नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाए । उनले शून्य समयलाई हटाएर विशेष समय उपलब्ध गराउन सदनको ध्यानाकर्षण गराए ।