२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदमा मलाई देख्यो भने ओलीको सातो जान्छ : अध्यक्ष नेपाल

‘एमालेले हामीहरूमाथि छुवाछुतको व्यवहार गर्नथाल्यो’

1.781k
Shares

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताउनुभएको छ ।

मंगलबार पार्टीले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूलाई देखेर ओलीको सातो जाने गरेको बताउनुभयो ।

मलाई देख्यो भने केपी ओलीे प्रवत्तिको सातो जान्छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर पनि संसदमा मेरो उपस्थित अनिवार्य छ ।’

अध्यक्ष नेपालले एमालेले संसदमा अवजरोध गरेर संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगको समेत अपमान गरेको आरोप लगाउनुभयो ।

‘अझै ओली र उनका मान्छेहरूले संसदमा उभिएर संवैधानिक सर्वोच्चता कायम गर भनिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरू आफैँ संविधानको बर्खिलाप जान्छन्, निर्वाचन आयोगको निर्णयको बर्खिलाप जान्छन्, अनि भन्छन्, संविधानिक सर्वोच्चता कायम गर ।’

अध्यक्ष नेपालले ओली सुध्रिने आशमा पिल्सिएर बसेकालाई एकीकृत समाजवादीमा आउन आह्वान गर्नुभयो । ओली नसुध्रिने भएकाले पिल्सिएर नबस्न पनि उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले एमालेले आफूहरुलाई शत्रु घोषणा गरेको भन्दै अनुहारसमेत हेर्न नचाहेको बताउनुभयो । एमालेले छुवाछुतको व्यवहार गरेको भन्दै उहाँले व्यङ्ग्यसमेत गर्नुभयो ।

‘एमालेले हामीलाई शत्रु घोषणा गरेको छ, हाम्रो अनुहार पनि हेर्दिन भनेको छ, तर कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्यो,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न हुने, अरु ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ।’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा आउने बताउनुभयो ।