
एजेन्सी । अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न माग गर्दै सयौं प्रदर्शनकारीले बन्द गरिएको काबुलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासअगाडि प्रर्दशन गरेका छन् । हामीलाई खान दिनुहोस, हामीलाई जम्मा गरिएको पैसा दिनुहोस, लेखिएको ब्यानरहरू बोकेर प्रदर्शनकारीहरूले नारा लगाएका थिए । जुलुसलाई सत्तारूढ तालिबानले सुरक्षा प्रदान गरेको थियो ।
दातृ निकायले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता रोकेका छन् । तालिवान सत्तामा आएपछि अफगानिस्तानको अरबौं डलरको सम्पत्तिमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । पहिलेदेखि नै समस्याग्रस्त अर्थतन्त्रलाई प्रतिबन्धले थप थिलोथिलो पारेको छ ।
यसले गर्दा त्यहाँ गरिबी बढ्दै गएको छ । पछिल्लो अवस्थालाई लिएर सहायता समूहहरूले अफगानिस्तानमा मानवीय विपत्तिको चेतावनी दिएका छन् । राज्यका कर्मचारी, चिकित्सकदेखि शिक्षक र निजामती कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् । यसैबीच, बैंकहरूले खातावालाहरूले कति पैसा झिक्न पाउने भनेर कोटा समेत तोकेका छन् ।
गत आइतबार मुस्लिम राष्ट्रहरुको संगठनले बढ्दो मानवीय संकटलाई संबोधन गर्न रोक्का गरिएको अफगानिस्तानको सम्पत्ति फुकुवाका लागि संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकमा पाकिस्तानले अफगानिस्तानमा जारी आर्थिक मन्दी अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर खतरा बन्ने चुनौति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्