
कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताउनुभएको छ ।
कपिलवस्तुको बहादुरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा खेती बाँझा राखेर भारतलाई पानी नदिने बताउनुभयो ।
‘यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन,’ उहाँले भन्नुभयो, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ ।’
अध्यक्ष ओलीले आफूहरूले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको भन्दै एमाले मात्र बेसहारा र अभिभावकविहीनहरूको पार्टी भएको दाबी गर्नुभयो । ज्येष्ठ नागरिकको स्वास्थोपचारको व्यवस्था एमाले सरकारले गरेको उहाँको जिकिर छ ।
एमालेले कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँ आफू सरकारमा गएपछि हुलाकी राजमार्ग निर्माणलाई विशेष ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।
आमसभामा अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तालाई एमालेमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलले आफूहरु जनताबाट नडराएको बताउनुभयो । देउवा सरकार निर्वाचन र जनताबाट डराएको भन्दै उहाँले आफूहरुले निर्वाचन चाहेको स्पष्ट पार्नुभयो ।
आमसभामा अन्य पार्टी परित्याग गरी करिव ६ हजारभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्