
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियासँग बराबरी खेलेको छ । सेभियाको मैदानमा गएराति भएको खेलमा बार्सिलोना १० खेलाडीमा सिमित सेभियासँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्यो ।
सेभियाका लागि पापु गोमेजले खेलको ३२ औं मिनेटमा गोल गरे । यस्तै, बार्सिलोनाका रोनाल्ड अरुजोले ४५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । जोर्डी अल्वालाई टच लाइनमा अनावश्यक रुपमा विवादमा उत्रिएपछि जुलेसलाई रेफ्रीले सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो ।
बार्सिलोनाको यो सातौं बराबरी हो । लिगमा १८ खेलबाट बार्सिलोना २८ अंकको साथ तालिकाको सातौं स्थानमा रहेको छ । सेभिया १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सेभिया शीर्षस्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि परेको छ ।
प्रतिक्रिया दिनुहोस्