१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिडविरुद्धको खोप : कहिले नआउँदाकाे तनाव, आए भण्डारणकाे पिरलाे

छोटो समयको सूचनामा छिटो–छिटो खोप आउँदा समस्या

221
Shares

काठमाडौं । १ सय भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएपछि सरकारले जतिसक्दो छिटो सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

नेपालमा हालसम्म ३ जनामा ओमिक्रोनको संक्रमण देखिएपछि सरकारले छिटो खोप लगाउन आग्रह गरेको हो । १ वर्षको अवधिमा नेपालले ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज खोप प्राप्त गरिसकेको छ ।

देशका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाइसकेका छन् भने ४१ प्रतिशतले पहिलो डोज खोप पूरा गरेका छन् । यसअनुसार पहिलो र दोस्रो डोज गरी २ करोड २२ लाख २८ हजार १ सय ७७ जनाले खोपको दायरामा आएका छन् ।

धेरै खोप आएसँगै यहाँको भण्डारण क्षमतामाथि प्रश्न उठ्ने गरेको छ । नेपालसँग २ लाख ७० हजार लिटर खोप भण्डार गर्ने सक्ने क्षमता छ । यो भण्डारण क्षमता नियमित खोप र कोभिडको खोपलाई लिएर हो । जसमा ५० प्रतिशत मात्र कोरोना विरुद्ध खोपको लागि प्रयोग हुन्छ ।

कोभिशिल्ड खोपको तुलनामा भेरोसेल, फाइजर, मोर्डना खोप कम मात्रामा मात्र भण्डार गर्न सकिन्छ । नियमित खोप भण्डारण तयार पारिएको कोल्ड चेनमा नै कोभिडविरुद्धका खोप भण्डारण गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख डा. विवेकलाल कर्ण, भण्डारणकै समस्याले तत्काल आउन लागेका खोपको आयात पछि सारिएको बताउनुहुन्छ ।

हाल भण्डार केन्द्रमा भेरोसेल, कोभिशिल्ड, जोनसन र मोर्डना गरेर ८२ लाख ११ हजार डोज खोप छन् । केही खोप प्रदेशको भण्डार केन्द्रमा छन् । क्षमता वृद्धि गर्दागर्दै पनि कम समयको सूचना दिएर खोप आउथ थालेका व्यवस्थापनमा समस्या भएको महाशाखा प्रमुख डा. कर्णको भनाइ छ ।

भण्डार धेरै भण्डार क्षेत्र विस्तार गरेर पनि कोभिडपछि निस्क्रिय हुने अवस्था आउनसक्ने आशंकाले एकै पटक विस्तार नगरिएको डा. कर्ण बताउनुहुन्छ । ‘खोप भण्डार निर्माणमा ठूलो धनराशी खर्च हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘कोभिडपछि निस्क्रिय हुनसक्ने देखिएकाले हामीले आँट नगरेका हौं, अहिलेसम्म हामीले व्यवस्थापन गरिरहेका छौं ।’

सरकारले पुस अन्तिमदेखि दुवै डोज खोप लगाएकाहरुलाई वुस्टर डोज खोप दिने जनाएको छ । तर, महामारी नियन्त्रणको समयमा विस्तार गरिएको भण्डार क्षमता अन्य समयमा प्रयोगमा आउँदैन भनेर सरकार पछि हटन भने मिल्दैन । कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको १ बर्षसम्म पनि भण्डारण क्षमता विस्तार नगर्नु भनेको जनस्वास्थ्यमाथि चरम हेलचेक्र्याँइ हो ।