१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कोरोना भाइरसका कारण चिनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो, फिलिपिन्समा एकजना


0
Shares

काठमाडौं, माघ १९ । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण चीन बाहिर पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

चीनको वुहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिकको फिलिपिन्समा मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ती चिनियाँको मृत्यु भएको पुष्टी भएलगत्तै फिलिपिन्सले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ ।

यसअघि यो भाइरसका कारण चीनमा मात्रै विरामीहरुको मृत्यु भएको थियो । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ । २ हजार ५ सय ९० जना नयाँ रोगी फेला परेका छन् ।

संक्रमितको संख्या १४ हजार ५सय  पुगेको छ । विश्वका २४ मुलुकमा संक्रमण देखा परेको छ । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाइ गरिसकेका छन् ।

गत वर्षको अन्त्यतिर मध्य चीनको वुहानबाट यो भाइरस फैलिएको हो । वुहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाइएको छ, तर संक्रमण रोकिएको छैन ।

चीनले वुहान समेत धेरै शहरमा आवतजावत रोक्नुका साथै सवारी साधनहरु बन्द गरेको छ । अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।

मंगोलिया,रुसले सीमानाका बन्द गरेका छन् र पपुवा न्यूगिनीले एसियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउनमा समेत रोक लगाएको छ ।

बेलायत, रुस र स्वीडेनले पनि यो साता कोरोना भाइरसका कारण आफ्ना नागरिक संक्रमित भएको जनाएका थिए । विश्व स्वास्थ्य संगठनले गत बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

हाल कोरोना भाइरसको फैलने दरमा भने कमी आएको बताइएको छ । एजेन्सी