
काठमाडौं, पुष ९ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् ।
मरेका गैँडामध्ये २ चोरी सिकारीले मारेको शंका गरिएको छ । अन्य कालगतीले मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार साउनमा ६, भदौमा २, असोजमा १, कात्तिकमा ३, मंसिरमा ५, र पुषमा २ गैँडा मरेका हुन् ।
मरेका गैँडामा बूढो भएर ५, भासिएर ५, पानीमा डुबेर २, जुधेर ४ र बाघको आक्रमणबाट १ गैँडा मरेको जनाइएको छ । यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको शंका गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ४३ गैँडा मरेका थिए । पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ रहेका छन् । गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ ।
केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन् । गैँडाको संख्या बढ्दै गएपछि पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्नेको पनि बढी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्