१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फाल्गुनन्द गाउँपालिका संस्कृति संरक्षणमा


598
Shares

इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने फाल्गुनन्द गाउँपालिका संस्कृति बचाउँ अभियानमा जुटेको छ । संस्कृति रहे समाज रहन्छ भन्ने मुख्य उद्देश्य लिएर यस गाउँपालिकाले संस्कृति संरक्षणको काम गरिरहेको छ । इलाम र पाँचथरको सिमानामा रहेको फाल्गुनन्द गाउँपालिकाका खसआर्य समुदायले समेत लक्षित वर्गको कार्यक्रम उपभोग गर्न पाएपछि खुशी भएका छन् । गाउँपालिकामा १५ प्रतिशत खसआर्य समुदाय रहेका छन् ।

गाउँपालिकाको संस्कृति संरक्षण कार्यक्रमअन्र्तगत उनीहरुले यो सेवा पाएका हुन् । आदिवासी लिम्बू समुदायको बाहुल्यता रहेको यो गाउँपालिकामा अल्पसंख्यक खसआर्यले पनि लक्षित वर्गको कार्यक्रममा समावेश हुन पाएका छन् । राज्यले लक्षित वर्ग उत्थानका लागि भनेर करोडौं रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ । फाल्गुनन्द गाउँपालिकाले खसआर्य समुदायका लागि बजेट विनियोजन गरेर कार्यक्रम संचालन गरेको छ । खसआर्यको संस्कृति लोप हुन लागेको भन्दै संरक्षणका लागि गाउँपालिकाले खसआर्य समुदायका अगुवालाई खसआर्य संस्कृति संरक्षण कार्यक्रम सम्बन्धी प्रशिक्षणसमेत दिएको छ ।

खासआर्यको कर्मकाण्ड सम्बन्धी चेतना अभिवृद्धि गराउने, आफ्नो संस्कार, संस्कृति र परम्पराको संरक्षणका लागि अभिप्रेरित गराउने, खस आर्यको आफ्नो पहिचानलाई निरन्तरता दिन उत्प्रेरित गराउने र समाजमा जातीय सद्भाव कायम गर्न अभिप्रेरित गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको हो । जन्म, विवाह, मृत्यू पश्चात गरिने संस्कृति, वार्षिक रुपमा गरिने पाठपूजा र धर्मसंस्कार सम्बन्धी जानकारी दिन युवा वर्गलाई प्रशिक्षण दिइएको हो । लिम्बू समुदायको बाहुल्यता रहेको यो गाउँपालिकामा पहिलो पटक खसआर्य समुदायलक्षित कार्यक्रम सञ्चालन भएको हो ।

फाल्गुनन्द गाउँपालिकाले लिम्बू, वान्तवा र तामाङ भाषाको प्रवद्र्धनका लागि मातृभाषा शिक्षक नियुक्त गरी पठनपाठन समेत गराइरहेको छ । त्यसैगरी यसै वर्षदेखि लिम्बू भाषालाई सरकारी कामकाजी बनाउने निर्णय गरेर घोषणाको तयारी समेत गरिरहेको छ । २५ हजार जनसंख्या रहेको फाल्गुनन्दमा लिम्बू ५५ प्रतिशत, खसआर्य १५ प्रतिशत, राई र तामाङ १०/१० प्रतिशत, दलित ५ प्रतिशत, मगर, सुनुवार र नेवार १/१ प्रतिशत र माझी, कुमाललगायतका अल्पसंख्यक र अन्य जाति २ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ । त्यसैले यस्ता संस्कृतिको संरक्षणमा यस गाउँपालिकाले गरेको सकारात्मक कामबाट सबैले सिक्ने हो की ?