
कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम सशस्त्र प्रहरी बल एपीएफ र प्रदेश १ भिड्ने भएका छन् ।
शनिबार फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो ।
पहिलो खेलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । उनीहरूले उपाधिका लागि आइतबार भिड्नेछन् ।
दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् ।
ममता चौधरीले २७ रन, सीता रानामगरले १८ रन, राजमती ऐरी १४ रन र ज्योती पाण्डेयले ११ रन थपिन् । लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १–१ विकेट लिए ।
जवाफमा १ सय ३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ९१ रन मात्रै बनाउन सक्यो । निर्धारित ओभरमा लुम्बिनीले ५ विकेट क्षतिमा ९१ रन मात्र जोड्यो ।
उसका लागि नेरी थापाले अविजित ३८ रन बनाइन् भने नतु भण्डारीले १८ रन जोडिन् । एपिएफकी रेखा रावलले ३ विकेट लिइन् । सीता रानामगरको नाममा एक विकेट रह्यो ।
प्लेयर अफ द म्याच भने एपीएफकी रोमा थापा बनिन् ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख पाउने भएको छ ।
यस्तै, प्लेयर अफ द सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याटरले समान १५–१५ हजार पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्