
काठमाडौं, पुष ११ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।
डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुको एक टोली जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी लिएर विभागमा पुगेको हो ।
नागरिक अभियन्ताहरुले विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईसमक्ष छानबीनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
टोलीमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत रहनुभएको छ । जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एसोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको अधिवक्ता अर्यालले बताउनुभयो ।
विभागले आफुहरुको मागमाथि सुनुवाइ गर्दै जबराको सम्पत्ति खोज्ने विश्वास लिएको उहाँले उल्लेख गर्नुभयो । जबराले परिवारका अन्य सदस्यका नाममा विभिन्न ठाउँमा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उजुरीमा छ । विभागका महानिर्देशक भट्टराईले अभियन्ताहरुको उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्