३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


एमसीसी राष्ट्रघाती छैन, बरु नेपालको हितमा छ : प्रधानमन्त्री देउवा


286
Shares

काठमाडौं, पुष ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती नभएको बताउनु भएको हो । उहाँले एमसीसीका बारेमा विरोध गर्नुभन्दा पहिले राम्रोसँग अध्ययन गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले आफुले एमसीसीको बारेमा अध्ययन गर्दा कतै राष्ट्रघात सम्बन्धी विषय नभेटेको बरु नेपालको हितका बारेमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले ‘म पनि राष्ट्रका लागि लडेको मान्छे प्रधानमन्त्री हुँ । म राष्ट्रघातको पक्षमा जान्छु होला,’ भन्नुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गर्नुभयो । उहाँले गठबन्धन कसैको बिरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताउनु भयो । प्रधानमन्त्री देउवाले आफूले निर्वाचन भन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिलेको बेलामा जो हाम्रो गठबन्धन बनेको छ, यो कसैको बिरुद्धमा होइन, तर के छ भने अहिलेको संविधानबाट जो, संसद पूरा चलोस्, बीचमा संसद भंग नहोस्, मनपरी भंग नहोस्, भनेर संविधान बनाइएको जस्तो लाग्छ । म पनि संविधानसभाको सदस्य थिएँ । यो संविधानको आधारमा फेरि हामीले अदालतमा गएर बनाएको गठबन्धन छ,यो कसैको खिलाफको गठबन्धन होइन । संविधानका साथै संसद बचाउने गठबन्धन हो । गठबन्धन पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ । म त अझ अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु, ओलीजीहरुलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन गरे, आफूले त मिल्न पाइन्छ नि ।’

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकै अगुवाईमा संविधानसभाको चुनाव भएको स्मरण गराउनुभयो ।