
तनहुँ । चट्टान आरोहणको गन्तव्य बनेको तनहुँको विमलनगरस्थित चुनपहरा संकटमा परेको छ । पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा उक्त पहरो पनि भत्किने संभावना देखिएपछि जोखिम बढेको हो ।
तनहुँको विमलनगरमा रहेको चुनपहरा संरक्षणका लागि बन्दीपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लवद्वारा उक्त स्थानमा तीन दिने चट्टान आरोहण प्रतियोगिता गरिएको छ । बन्दीपुर गाउँपालिका– ४ विमलनगरमा रहेको चुनपहरा पछिल्लो समय चट्टान आरोहण गर्न उपयुक्त गन्तव्य बनेको छ । तर पृथ्वी राजमार्ग विस्तार गर्ने कार्य सुरु भएसँगै उक्त स्थान जोखिममा परेको छ ।
त्यसैले चुनपहराको संरक्षण गर्न बन्दीपुर गाउँपालिकाले तदारुकता देखाएको छ । साहसिक पर्यटनको प्रवद्र्धन गरौ विमलनगर चुनपहरा जोगाऔं भन्ने नाराका साथ रक क्लाइम्बिङ महोत्सव गरिएको हो । चट्टान आरोहण गर्दा स्वास्थ्यका लागि पनि फाइदा हुने र हिमाल चढ्नेलाई पनि सहज हुने सिद्ध गुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो ।
हिमाल चढ्नेहरुका लागि पुर्व तयारीका हिसावले अन्य स्थानहरुभन्दा यो ठाउँ उपयुक्त मानिन्छ । पृथ्वीराजमार्गकै छेउमा भएकाले सजिलो हुने भए पनि राजमार्ग विस्तारका क्रममा धरापमा पर्ने भएकाले चुनपहरा संरक्षण गर्न चट्टान आरोहण प्रतियोगिता सञ्चालन गरिएको गण्डकी अल्पाइन क्लवका अध्यक्ष नरेन्द्र शाही ठकुरीको भनाइ छ ।
चुनपहरा आरोहण गर्न आएकाहरुलाई यहाँका दिदीबहिनीहरुले पञ्चेबाजा बजाएर सत्कार गर्ने चलन छ । कमान्डो तालिम लिनका लागि सुरक्षाकर्मीले समेत यही स्थानलाई रोज्ने गरेका छन् । आरोहणका लागि यो स्थान राम्रो र सुरक्षित रहेको सोलुखुम्वुका तुङबा शेर्पाले बताउनुभयो ।
साहसिक पर्यटनको केन्द्रको रुपमा रहेको चुनपहरालाई पुर्वाधार थपेर धेरैभन्दा धेरै साहसिक पर्यटक भित्र्याउने योजना गाउँपालिकाको थियो तर, पृथ्वी राजमार्गको सडक फराकिलो पार्ने चर्चा चलेपछि चुनपहरा संकटमा परेको हो ।
प्रतिक्रिया दिनुहोस्