
सर्लाही । इलाका प्रहरी कार्यालय, ईश्वरपुरको भ्यानले ठक्कर दिदाँ एक व्यवसायीको मृत्यु भएकाे छ । मृत्युपछि स्थानीय र व्यवसायीले बयलवास बजार बन्द गरेका छन् ।
ईश्वरपुर नगरपालिका–७ मा प्रहरीको भ्यानले ठक्कर दिँदा सोही नगरपालिका–५ घर भएका रामकुमार महतोको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिकाको कार्यालय पछाडि ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्फ जाँदै गर्दा भ्यानले ठक्कर दिएको हो । आइतबार राति करिव ९ बजे मामाघर जाने क्रममा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको स्वीकारोक्ति छ ।
आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर मृत्युपछि मात्र जानकारी दिएको स्थानीयको आरोप छ । घटना राति भए पनि परिवारलाई विहान मात्र जानकारी दिइएको थियो ।
आफैँ संलग्न भएपछि प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै उद्योग वाणिज्य संघ, ईश्वरपुरको आयोजनामा बजार बन्द गर्दै ईलाका प्रहरी कार्यालय, ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्