
काठमाडौं । पछिल्लो एक महिनामा मूलधारका चार ठूला दल कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनमार्फत पार्टी नेतृत्व छानेका छन् ।
दलका नेताहरूले सार्वभौम जनताको सुखद भविष्य र समृद्ध नेपालको परिकल्पनालाई आफ्नो एकमात्र एकलव्य यात्रा भएको जिकिर गर्दै आएका छन् । तर, चारवटै महाधिवेशनलाई नियालिरहेका जनता भने दलहरूको महाधिवेशन आफ्ना लागि कागलाई बेल झैँ भएको बताउँछन् ।
इतिहासमा यो एक महिना यस्तो अभूतपूर्व संयोग बन्यो कि चार चारवटा दलले हजारौं कार्यकर्ता उतारेर नेतृत्व चयन गरे । सामान्य आँखाले नेतृत्व छनोट भनिए पनि हरेक दलले महाधिवेशनलाई शक्ति प्रदर्शनका रूपमा लिँदै आएका छन् ।
एमालेले नारायण नदी किनारलाई कार्यकर्ता उतार्ने थलो बनायो । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र तीनदशकदेखि एउटै नेतृत्वमा चलिरहेको माओवादीले महाधिवेशन थलो काठमाडौं रोजे । नेताहरूले जनताका नाममा कसम खाए । देश समृद्ध बनाउने बाचा गरे ।
आ–आफ्नो दलको विज्ञापनमा शब्द खर्चिए । जसका लागि उनीहरुले पार्टीभित्र दस्तावेज बनाए, कार्यकर्ता भेला पारे । तर, त्यो वर्ग भने नेताहरूले राजनीति नाममा झुक्याएको तीतो पोख्न चुक्दैन । सत्ता भेटेपछि नेताहरू स्वार्थी बनेको उनीहरूको विश्लेषण छ ।
हरेक पार्टीको महाधिवेशनमा गाउँ–गाउँबाट प्रतिनिधि आउँछन् । विवेक बन्धक राखेर नेताहरूको लोलीमा बोली मिलाउनु उनीहरूको कर्तव्यभित्र पर्छ ।
माओवादी केन्द्रको महाधिवेशन चलिरहँदा त्यो पार्टीका कार्यकर्ताहरू महाधिवेशनस्थलमा यही भूमिका निर्वाह गरिरहेका छन् । यिनीहरू दलहरूले जनताकै हितमा काम गरिरहेको र महाधिवेशनको सफलताले परिवर्तित राजनीतिक प्रणालीलाई मजबुत गरिरहेको दावी गर्छन् ।
दलीय आँखाले हेर्दा एउटा पार्टीको नेतृत्व चयन अभूतपूर्व उपलब्धिमूलक देखिए पनि नागरिकका दृष्टिले सन्तोषप्रद लाग्दैन । नेतृत्वमा को आयो भन्दा पनि नेतृत्वले लिने बाटोसँग जनताको सरोकार रहन्छ ।
त्यसैले अनुहार नभई आचरण परिवर्तन अहिलेको आवश्यकता हो । जनताले चाहेको पनि त्यही हो ।
प्रतिक्रिया दिनुहोस्