१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरमा साकेलाको रौनक, नयाँ पुस्तालाई जानकारी दिन प्रशिक्षणको व्यवस्था


273
Shares

भोजपुर । किराती मुन्दुमी संस्कृतिमा साकेवा, साखेवा, साकेन्वा भनेर चिनिने साकेला पर्व यो वर्ष सांस्कृतिक नाचगानसहित सकिएको छ ।

जंगली जीव जनावरको नक्कल, कृषि कामको अनुकरण गर्दै ढोल र झ्याम्टाको तालमा साकेला नाचिने पर्व यस वर्ष सकिएकाे हाे ।

एक हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टा, बिनायोको तालमा एकै सुरमा गोलाकार घेराभित्र रहेर सांस्कृतिक सिलीमा साकेला नाच्ने गरिन्छ ।

प्रकृतिपुजक किरात राईहरूले मंसिर पूर्णिमामा सूर्यको गति दक्षिणतर्फ लाग्ने समय भएकाले उधौलीलाई मुन्दुमी किरात भाषामा ‘दोङदावा’ भन्ने पनि गरिन्छ । साकेलामा बालीनाली नबिग्रियोस् भनेर इष्टदेवता सुम्निमा र पारुहाङ पुज्ने गरिन्छ ।

न्वागी, सिमे, भूमे, उभौलीउधौली र भूमिपूजाका रूपमा कुखुरा, कोदोको रक्सीलाई ‘सुप्तुलुङ’ अर्थात तीनचुल्हो र माङ(पितृ)मा चढाउने धार्मिक परम्परा रहेकोे नाक्छोङ (कुलधामी) विजे किरात बताउनुहुन्छ ।

चण्डी तथा साकेला नाचलाई संरक्षण एवं सम्वर्द्धन गर्न किरात राई यायोख्खाले वर्षेनी सिली प्रशिक्षणसँगै कला, संस्कार, संस्कृतिसम्बन्धी प्रशिक्षण गर्दै आएको छ ।

विशेषतः नयाँ पुस्ताहरूलाई किरात धर्म र संस्कृतिको महत्वलाई निरन्तरता दिनका लागि साकेला आयोजना गरिएको किरात राई यायोख्खा भोजपुरकी अध्यक्ष सिर्जना राईकाे भनाइ छ ।

किराती समुदाय अन्तर्गत सुनुवार, राई, लिम्बू र याक्खा जातिको प्रमुख चाड उभौलीउधौली साकेला वैशाख पूर्णिमा र उधौली साकेला मंसिर पूर्णिमादेखि एक महिनासम्म धुमधामले मनाइने गरिन्छ ।

बहुृजाती भाषा धर्म कला, संस्कार, संस्कृति रहेको हाम्रो देशमा यस्ता पर्वले समुदायमा जातिगत सम्मान, भातृत्व विकास, कला, संस्कार, सस्कृतिको सम्मानसँगै छुट्टै रौनक पनि दिने गरेको छ ।