१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रभावकारी बन्दै फाल्गुनन्द गाउँपालिकामा मातृभाषाको शिक्षा


182
Shares

इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य मातृभाषामा पठनपाठन गराउने नीति लिएको छ । स्थानीय लिम्बू र तामाङ मातृभाषाको पठनपाठन सुरु गरेको फाल्गुनन्द गाउँपालिकाले अहिले राई वान्तवा मातृभाषामा समेत पठनपाठन सुरु गरेको छ ।

गाउँपालिकाबाट प्रत्येक विद्यालयका लागि एक जना सम्बन्धित मातृभाषा शिक्षक अनुदान दिएर पठनपाठन सुरु गरेको हो । आ–आफ्नो बजेट पुस्तिकामा नै मातृभाषा शिक्षा व्यवस्थापन अनुदान कार्यक्रम राखेर गाउँपालिकाले मातृभाषा शिक्षक व्यवस्थापन गरेको हो । गाउँपालिकाले १६ वटा विद्यालयमा अहिले मातृभाषामा पठनपाठन गराइरहेको छ ।

जसमध्ये १४ विद्यालयमा लिम्बू र दुई विद्यालयमा तामाङ भाषामा पठनपाठन भइरहेको छ । यही वर्षदेखि ६ वटा विद्यालयमा लिम्बू, एक विद्यायमा तामाङ र एक विद्यालयमा राई वान्तावा भाषाको शिक्षक नियुक्ति प्रक्रियामा रहेको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

गाउँपालिकाले मातृभाषाका शिक्षकलाई तहअनुसार दुई प्रकारको सेवासुविधा दिने गरेको छ । माध्यमिक तहका मातृभाषा शिक्षकलाई मासिक १७ हजार र आधारभूत तहका शिक्षकलाई मासिक १४ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको छ । जातीय बाहुल्यताको आधारमा मातृभाषा शिक्षा पठनपाठनको व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेले जानकारी दिनुभयो ।

यता प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले संविधानले व्यवस्था गरेबमोजिम पालिकाले जातीय बाहुल्यताका आधारमा मातृभाषामा कक्षा सञ्चालन गरेको बताउनुभयो । उहाँले मातृभाषा पठनपाठनमा व्यवहारिक रुपमा चुनौती पनि रहेको बताउनुभयो । एकै जाति र भाषाको मात्र विद्यार्थी नभएकाले पठनपाठनमा व्यवहारिक समस्या रहेको उहाँको भनाई छ ।

फाल्गुनन्द गाउँपालिकामा कक्षा १२ सम्म पठनपाठन हुने माध्यमिक विद्यालय १० वटा, कक्षा १० सम्म पठनपाठन हुने माध्यमिक विद्यालय एउटा, कक्षा ८ सम्म पठनपाठन हुने आधारभूत विद्यालय ७ वटा, कक्षा ५ सम्म पठनपाठन हुने आभारभूत विद्यालय १९ वटा र कक्षा ३ सम्म पठनपाठन हुने आधारभूत विद्यालय ३ वटा रहेका छन् । मातृभाषामा पठनपाठन हुँदा यहाँका स्थानीय मात्र लाभान्वित भएका छैनन, छिमेकी गाउँपालिकाका बासिन्दा पनि लाभन्वित भएका छन् ।