
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एशियाली विकास बैंक (एडीबी)को टोलीको स्थानीय प्रशासनले सकुशल उद्धार गरेको छ ।
एडीबीको टोलीलाई आज बिहान श्री एयरलाइन्सको हेलिकप्टरबाट मार्फत सकुशल उद्धार गरिएको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौं ल्याइएको छ । स्थानीय पथप्रदर्शक सहित अन्य १० जनालाई भने उद्धार गरेर सुरक्षित राखिएको पनि प्ररीले जनाएको छ ।
एडीबीको विशेषज्ञ टोली पहिरोबारे अध्ययन गर्न केहिदिन अघि मेलम्ची खोलाको उद्गमस्थल पुगेको थियो । मेलम्चीको उद्गम स्थल २६ सय मिटर उचाइमा रहेको र त्यहाँ हिउँ पर्न थालेपछि उनीहरुको बस्द आएको टेन्ट हिउँ पहिरोले बगाएपछि रातभर ओढारमा बस्नु परेको उनीहरुले बताएका छन् ।
गत असारमा आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । मेलम्ची खानेपानी आयोजनामा पनि पहिरोले क्षति पुर्याएको थियो । एडीबी मेलम्ची खानेपानी आयोजनाको प्रमुख ऋणदाता समेत रहेको छ । गत असारमा पहिरो गएपछि त्यहाँको भौगर्भिक अवस्था अध्ययनका लागि एडीबीको टोली केही दिन अघि त्यता गएको थियो ।
प्रतिक्रिया दिनुहोस्