१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतदाता नामावली दर्ता गर्ने सकस


299
Shares

चितवन । चितवनमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको दैनिकजसो भिड छ । १८ वर्ष उमेर पुगेकादेखि जेष्ठ नागरिकसम्म नाम दर्ताका लागि जिल्ला धाउने गरेका छन् । तर सीमित कर्मचारी हुँदा नाम दर्ता गर्न सकस भइरहेको छ ।

चितवनका वरमन प्रजा लाइनमा बसेको धेरै दिन भयो । मतदाता नामावली संकलन कार्यक्रम २०७८ लागू भएर गाउँमै केन्द्र पुग्दा उन्को नाम छुट्यो । अहिले उनले जिल्ला निर्वाचन कार्यालय चितवन धाईरहनु परेको छ । फोटोसहितको मतदाता नामावली दर्ता नहुँदा दुई वटा चुनावमा भोटै हाल्न नपाएको उनको गुनासो छ । तर, यस पटक पनि यसरी लाईनमा बस्नु पर्दा दिक्क भए पनि पालो आउँला र बनाउँला भन्ने उनको आशा छ ।

निश्चिक शाही सिद्धीबाट घरको कामैछोडेर हस्याङफस्याङ गर्दे छोराको नाम दर्ता गराउन जिल्ला पुगिन । छोरा लाइनमा बसेको धेरै दिन भयो तर, अहँ अझै कति दिनपछि पालो आउने हो पत्तो छैन् । प्रायः जसो सुनसान र रित्तै हुने जिल्ला निर्वाचन कार्यालय चितवनमा यतिवेला युवाहरुको ठेलामठेल भीड छ । अन्य महिनामा पनि नियमित दर्ताको काम हुँदा फाट्टफुट्टमात्रै आउने नागरिक यो पटक हुलका हुल देखिन्छन् ।

कतिपय ठाउँबाट त नेताहरुले भोटकै लागि भनेर बस नै रिजर्भ गरेर पनि पठाउने गरेका छन् । ६ वटै स्थानीय तहमा केन्द्र राखेर मतदाता नमावली दर्ताको काम धमाधम भइरहेको छ । मंसिर १७ देखि पुसको २ गतेसम्म कालिका माडी र इच्छाकामनामा दर्ताको काम सकिएको छ भने बाँकी रहेका रत्ननगर, खैरहनी र राप्तीमा भने पुस ४ देखि सुरु भएको छ । केही दिनमात्रै बाँकी हुँदा बढेको भिडले सेवा दिन सकस भइरहेको छ । कर्मचारीको अभाव हुँदा काममा ढिलासुस्ती भएको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीको भनाई छ ।

सरकारले मतदाता शिक्षा कार्यक्रम चुनाव लक्षित मात्रै संचालन गरेको देखिन्छ । तर, अन्य समयमा पनि उमेर पुगेका नागरिकले फोटो सहितको मतदाता नामावलीमा दर्ता गर्नुपर्छ भन्ने अभियान संचालन नहुनु र चुनावकै बेला तातिने नेताहरुले अन्य समय वेवास्ता गर्दा यसरी काममा भद्रगोल भएको देखिन्छ ।