२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


महाधिवेशनपछि कांग्रेसमा फेरियो अनुहार तर फेरिएन गुट उपगुट


260
Shares

काठमाडौं, पुष १५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले पार्टीको आन्तरिक जीवनमा उत्साह ल्याएको छ । नीतिगत छलफल नभएपनि नेतृत्व चयनमा युवाको वर्चश्व स्थापित हुँदा पार्टीमा नेतृत्व रुपान्तरणको बहसले सार्थकता पाएको छ । तर, नेतृत्व चयन प्रक्रिया, पुराना पुस्ताका कतिपय नेताको भूमिका र उनीहरुको भविष्यको दृष्टिकोणबाट महाधिवेशनले सकारात्मकसंगै नकारात्मक प्रभाव छोडेको छ ।

उत्साह, एकता र रुपान्तरण नाराका साथ सम्पन्न महाधिवेशनले नाराले तय गरेका केही विषयमा न्याय गरेपनि केही विषय अपूर्ण नै राखेको छ । मुल नेतृत्वबाहेक पदाधिकारी र केन्द्रीय समितिमा युवाहरुको वर्चश्वले उत्साह र रुपान्तरणको नारा सार्थक त बनाएको छ । तर, नाराको महत्वपूर्ण पाटो पार्टी एकताको लय भने समात्न सकेको छैन् । यसकारण नेतृत्व चयनमा देखिएको आशा र उत्साह साथै महाधिवेशनले थुप्रै चुनौती थपेको प्रा. डा. गोविन्दमान सिंह बताउनुहुन्छ ।

महाधिवेशनमा पुराना नेता रामचन्द्र पौडेलको अनुपस्थिति, पार्टीभित्रका प्रभावशाली नेताहरुको पराजय र उनीहरुको व्यवस्थापनको भार पनि महाधिवेशनले नासोका रुपमा छोडेको सिंह बताउनुहुन्छ ।

महाधिवेशनले मुख्यगरी सभापति शेरवहादुर देउवा र सभापतिमा पराजित शेखर कोइराला समूहलाई स्थापित गरेपनि पार्टीभित्र गुटउपगुट निर्माण गर्ने हैसियत प्राप्त प्रभावशाली नेताहरु सक्रिय हुने मनसायमा छन् । आगामी दिनमा बन्नसक्ने विभिन्न उपगुट र महाधिवेशनले स्थापित गरेको कोइराला समूहसँग सहकार्यको अभिभारा पनि महाधिवेशनले छोडेको अर्को नकारात्मक पाटो भएको पुनः सिंहको तर्क छ ।

त्यसो त नेतृत्वमाथी निरन्तर धारे हात लगाउने र पार्टी पुर्नजीवनमा आफूलाई निर्विकल्पको रुपमा प्रस्तु गर्ने सबैको सम्मिश्रणको कार्यसमिति बनेको छ । पार्टीलाई आन्तरिक एकतासाथ उत्साहपूर्वक रुपान्तरित ढंगले अघि बढाउन नसकेको भन्दै आलोचना गर्ने र आलोचित हुने दुवै नेतृत्व तहमा पुगेका छन् ।

१३ औं महाधिवेशनपछि पार्टीमा देखिएको विभाजनको मानसकिता १४ औं महाधिवेशनबाट केहि हदसम्म मुक्त देखिएको छ । तर, नवनिर्वाचित नेतृत्व र कार्यसमितिको आगामी कार्यशैली तथा प्रस्तुतिले नै विभाजनको खाटा बसाउने या घाउ आलो बनाउने हैसिय राख्नेछ । यस दृष्टिले कांग्रेस नेतृत्वका लागि यो अग्निपरीक्षाको घडी हो ।