
रुपन्देही । केही दिन यता परेको वर्षाले रुपन्देहीमा करोडौको ईट्टा नष्ट भएको छ । जिल्लाका ४७ बढी ईट्टा व्यवसायीको करिब तीन करोड रुपैयाँ बढीको इट्टा नोक्सान भएको बताइएको छ ।
रुपन्देही जिल्लामा चिसो मौसममा उत्पादन हुने ईट्टा बनाएर तयार भएकोमा पोल्न नपाउँदै करिब ३ करोड २५ लाख रुपैयाँको काँचो ईट्टा गलेर नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघले जनाएको छ ।
संघका महासचिव अजय कुमार गुप्ताले जिल्ला भरीमा करिब सवा ३ करोड गोटा काँचो ईट्टा नष्ट भएको बताउनुभयो । रुपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौँ लगायत विभिन्न स्थानमा जाने गर्दछ ।
काँचो इट्टा नष्ट हुँदा उत्पादनमा कमी आउने र बजारमा पनि इट्टाको अभाव हुने देखिएको छ । प्रत्येक वर्ष मंसिरदेखि जेठ महिनासम्म उद्योग सञ्चालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण ईट्टा उद्योगहरू बन्द रहने गर्दछन् ।
यस वर्षको पहिलो लगानी नै वर्षाले डुबाएको भन्दै उद्योगीले दुखेसो पोखेका छन् ।
प्रतिक्रिया दिनुहोस्