
सोलुखुम्बु । जिल्लाको तल्लो क्षेत्रमा रहेको पत्तालेमा परेको हिउँमा रमाउन आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।
सदरमुकामबाट नजिक रहेको र लामो समय हिउँ रहने भएकाले घुमफिरका लागि रोजाईमा पर्ने गरेको हो ।
सदरमुकाम सल्लेरीबाट सडक मार्ग प्रयोग गरी करिब एक घण्टाको दुरीमा रहेको पत्तालेमा हिउँ खेल्न आउनेको संख्या बढेको हिमाली होमस्टेका सञ्चालक प्रकाश मगरले बताउनुभयो ।
समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटर उचाइमा रहेको पत्तालेमा बाक्लो हिउँ भएकाले छिमेकी जिल्लाका मानिससमेत आइरहेका छन् ।
यो क्षेत्र सल्लेरीमा रहेका कर्मचारी, विद्यार्थीलगायत आसपासका जिल्लाका सर्वसाधरणको रोजाईमा परेको छ ।
हिउँ पनि खेल्न पाइने र सगरमाथालगायत दर्जन बढी हिमश्रृङ्खलाहरूको दृश्यावलोकन एकसाथ गर्न पाउने भएकाले पर्यटकको आकर्षण बढेको हो ।
यहाँ आउने पर्यटकका लागि खान तथा बासका लागि गेष्ट हाउस र होमस्टे निर्माण भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्