
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन पुस ११ गतेदेखि राजधानीमा जारी छ । नयाँ नेतृत्व चयन गरी महाधिवेशन सकिने कार्यतालिका छ । तीन दिनको लागि महाधिवेशनको समय सीमा तोकिएको थियो । तर, आज आठौं दिन बितिसक्दा पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको छैन । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै हुँदा महाधिवेशन लम्बिएको हो ।
एकथरी महाधिवेशन प्रतिनिधि भन्छन्, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिएको निर्णयलाई महाधिवेशनका प्रतिनिधिहरूले त्यसको विरोध गर्ने साहस नै गर्दैनन्, त्यसैले हलबाटै आफू अध्यक्ष बनेर पदाधिकारी तथा कार्यसमिति सदस्यहरु पछि टुंगो लगाउने गरी महाधिवेशन समापन गरि दिए हुन्थ्यो ।’ अर्काथरी महाधिवेशन प्रतिनिधि भन्छन्, ‘पद संख्या कम र आंकाक्षी बढी भएकाले पदमा अटाउन नसकेका व्यक्ति प्रचण्डसँग रिसाउने देखिएकाले सिंगो महाधिवेशन प्रतिनिधिबाटै सर्वसम्मत पदाधिकारी र सदस्य चयन गर्न तिर प्रचण्ड लागेका देखिन्छन् ।’
माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो । सहमतिमा यी नाम टुंग्याउन थप गृहकार्य चाहिएकाले पटक पटक बन्दसत्र स्थगित हुँदै आएको छ । अझ प्रकाशित भईसकेको निर्वाचन कार्यतालिका समेत फेरबदल गरिएको छ ।
प्रचण्डले गृहकार्य गरेर पदाधिकारीको नाम ल्याउने र त्यसमा सहमति नभए निर्वाचनमा जाने तयारीमा जाने केन्द्रीय निर्वाचन आयोग लागेको छ । त्यहि भएर आइतबार ११ बजेसम्म सहमतिका लागि गृहकार्य सक्ने, ११ बजे स्थायी समिति बैठकमा छलफल गरेर केन्द्रीय सदस्यको नाम टुंग्याउने र दिउँसो १ बजे बन्दसत्र बस्ने कार्यतालिका बनाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।
प्रचण्डले केन्द्रीय सदस्यको प्रस्ताव गर्न प्रदेश र विभागलाई जिम्मा दिएका छन् । केन्द्रीय सदस्यको आकांक्षी धेरै भएकाले सबै प्रदेशले सजिलै टुंगो लगाउँछन् भन्ने छैन । स्थायी समितिको बैठकपूर्व सबै प्रदेश र विभागले केन्द्रीय सदस्यका आकांक्षीको नाम बुझाउनेछन् । शनिबार पनि विधान पारित भएलगत्तै विधानले व्यवस्था गरेका क्लस्टरअनुसार केन्द्रीय सदस्यको नाम जुटाउन सबै प्रदेशका प्रतिनिधिको भिन्दाभिन्दै छलफल भएको थियो । तर, प्रदेशहरुले पनि नेताहरुको नाम सिफारिस गरिसकेका छैनन् । नेताहरुका अनुसार क कसको नाम सिफारिस गर्ने भनेर प्रदेश कमिटीमै सहमति हुनसकेको छैन ।
माओवादीको विधानमा मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति र केन्द्रीय समितिबाट पदाधिकारी चयनको व्यवस्था छ । २९९ सदस्यीय केन्द्रीय समितिमा १५४ जना समानुपातिकतर्फबाट र १४५ जना खुलातर्फबाट निर्वाचित हुने गरी सूचना जारी भएको थियो । विधानमा समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेसी, आदिवासी जनजाति, खस–आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । १५ प्रतिशत मनोनीत प्रक्रियाबाट केन्द्रीय समितिमा प्रवेश गर्नेछन् ।
माओवादी केन्द्रको निर्वाचन आयोगको सूचनाअनुसार केन्द्रीय समितिमा निर्वाचन वा सर्वसम्मत जसरी आए पनि समानुपातिकतर्फको खस–आर्यतर्फ ४५ जना (पुरुष १२, पुरुष युवा ३, महिला २४, महिला युवा ६), दलिततर्फ २२ (पुरुष ६, पुरुष युवा १, महिला १२, महिला युवा ३), मुस्लिमतर्फ ७ (पुरुष १, पुरुष युवा १, महिला ४, महिला युवा १), मधेसीतर्फ २३ (पुरुष ६, पुरुष युवा १, महिला १३, महिला युवा ३), आदिवासी–जनजाति ४३ (पुरुष ११, पुरुष युवा ३, महिला २३, महिला युवा ६), थारूतर्फ १० (पुरुष २, पुरुष युवा १, महिला ६, महिला युवा १), अपांगतातर्फ २ (पुरुष १, महिला १), पिछडिएको क्षेत्रतर्फ २ (पुरुष १, महिला १) जना आउनेछन् । खुलातर्फ १४५ जनाको निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोगको सूचनामा छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने विधानले व्यवस्था गरेको छ ।
विधानअनुसार महाधिवेशनले केन्द्रीय समिति बनाएपछि केन्द्रीय समितिले पदाधिकारी, पोलिटब्युरो र स्थायी समिति चयन गर्नेछ । केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ संख्यामा स्थायी समिति रहनेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।
दाहालले सहमतिबाटै केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्ने प्रस्ताव राखेका थिए । त्यो बेलासम्म सहमति हुन नसके फेरि पनि निर्वाचन कार्यतालिका प्रभावित हुनेछ । किनकी निर्वाचन गर्नका लागि गर्नुपर्ने अरु थुप्रै तयारीका लागि माओवादी तयार भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्