
बागलुङ । लामो समयदेखि चर्किँदै आएको बागलुङ र पूर्वी रुकुमको सीमा विवाद अझै सुल्झिएको छैन् । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सिमाना पर्ने पातिहाल्नेमा वर्षौदेखि विवाद कायमै छ । विवाद मिलाउन कोशिस गरे पनि अहिलेसम्म मिलेको छैन् ।
भूमे गाउँपालिकाले वि.सं. २०७४ सालमा बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद बढेको थियो । दुवै जिल्लाका सरोकारवाला बीच पटक–पटक सहमति जुटाउने प्रयास भए पनि अहिलेसम्म सहमति जुटको छैन् । गत वर्ष चैतमा सीमा विवाद टुंग्याउन कार्यदल बनाइएको थियो ।
कार्यदलले सीमा विवाद टुङ्याउने सहमति गरेर सिमानामा पिल्लर गाड्ने भनेपछि निसीखोला गाउँपालिकाले त्यसको तयारी गरेको र भूमेगाउँपालिकाको तर्फबाट कोही उपस्थित नभएपछि विवाद कायमै रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।
बागलुङको भू–भागमा पर्ने रिग ताल, पाती हाल्ने लगायत विभिन्न स्थानमा रुकुम पूर्वले दाबी गर्दै आएको छ ।
सीमा विवाद समाधानका लागि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सांसद, गाउँपालिका प्रमुख, कर्मचारी लगायतको टोलीले पटक–पटक छलफल गरिसकेको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले दुवै जिल्लाको सहमतिमा विवाद नटुङ्गिएपछि प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्