
कैलाली । कञ्चनपुरको पुनर्वासस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो प्रहरी निरीक्षक हुँ भन्ने धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पुनर्वास नगरपालिका–१० दोदा पुलबाट पक्राउ गरेको हो । सनम भण्डारीले चलाएको से ३ प ४४९६ नम्बरको हन्क मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कालो प्लाष्टिकमा लुकाएर राखेको फेला पारेर उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।
सनम भण्डारी नक्कली प्रहरीको खोल ओड्दै लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुको साथबाट १५ ट्याब्लेट नाइट्राभेट र स्पास लेखेको ४४ थान क्याप्सुल बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथि थप छानबिन भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश सिह बिष्टले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्