१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनौतीको घेरामा देउवा


208
Shares

काठमाडौं, पुष १८ । दोस्रो पटक पार्टीको नेतृत्वमा पुग्नुभएका कांग्रेस सभापति शेरवहादुर देउवा सामु अवसरभन्दा चुनौती धेरै देखिएका छन् । पार्टीको १४ औं महाधिवेशनमा देखिएको उत्साह र उर्जालाई सदुपयोग गर्दै पार्टीलाई गतिशिल र रुपान्तरित गर्नु सभापति देउवाको पहिलो चुनौती हो भने संसदलाई गतिशिल र सरकारलाई चलायमान बनाउनु देउवाका लागि अर्को चुनौती छ ।

साँझा सभापति बन्ने प्रतिवद्धतासहित दोस्रो कार्यकाल सुरु गर्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाका लागि महाधिवेशनको क्रममा असन्तुष्ट आफ्नै समूहका नेतादेखि पार्टीभित्रको शक्ति समूह र कार्यसमिति पदाधिकारीलाई सन्तुलनमा राख्नु पहिलो चुनौती हुने देखिएको छ । आफ्नै समूहका नेतालाई चित्त बुझ्दो जिम्मेवारी दिने चुनौती एकातिर छ भने अर्कोतिर पार्टीभित्र बृहत्त एकताका लागि सबै पक्षलाई समेट्नु देउवाको अर्को चुनौती छ । केन्द्रीय समितिको बैठकबाट गरिएको वरीयता निर्धारण र केन्द्रीय समितिमा पहिलो पटक नियुक्त गरिएका १० जनालाई लिएर पार्टीभित्र देखिएको असन्तुष्टिले देउवामाथि थप चुनौती थपेको छ । यद्धपि महाधिवेशनमा प्राप्त मतका कारण देउवालाई आफ्नो अनुकुलतामा अघि बढ्न अवरोध भने हुनेछैन् । कार्यसमितिमा दुई तिहाई बहुमत भएपनि पार्टीको निर्णयलाई कार्यान्वयन गर्न सबैको साथ चाहिने हुँदा पार्टी भित्रको सहमतिका लागि देउवालाई चुनौती देखिएको राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की बताउनुहुन्छ ।

महाधिवेशनबाट निर्वाचित युवा नेताको गतिसँग आफुलाई हिडाउनु देउवाका लागि अर्को चुनौती हुनेछ । राजनीतिका चतुर खेलाडी देउवाले विधानले दिएको शक्ति प्रयोग गर्दै गर्दा युवा नेतालाई आफुमा केन्द्रीत गर्न सक्छन् । तर पार्टीलाई गतिशील बनाउन उनीहरुको उचित परिचालन देउवासामु विकल्परहित जिम्मेवारी हो । देउवाले पटक–पटक दोहोर्‍याउँदै आएको विषय हो–आउँदो चुनावमा पार्टीलाई पहिलो पार्टी बनाउने । देउवालाई तीनै तहको निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउने ठूलो चुनौती हुने राजनीतिक विश्लेषक कार्की बताउनुहुन्छ ।

सभापति देउवाले अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ । एकातिर लामो समयदेखि संसद अवरुद्ध छ भने अर्कोतिर अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण मुलुक २ भागमा विभाजित छ । यी विषयमा उचित निकास दिनु देउवाका लागि पार्टी बाहिरको तत्कालिन अर्को चुनौती हो ।

पार्टीलाई विधि तथा आन्तरिक लोकतन्त्रलाई स्थापित गर्ने र महाधिवेशनमा उठेका रुपान्तरणको आवाजलाई सम्बोधन गर्न सके देउवाको पछिल्लो कार्यकाल सफल हुनेछ । यसले पार्टीभित्रको विकृतीलाई पनि केही हदसम्म रोक्न सक्ने देखिन्छ ।