
काठमाडौं, पुष १८ । कृषि तथा पशुपछी मन्त्रालयअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडबाट भएको डीएपी मल खरिदमा १ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेसहितलाई प्रतिवादी बनाएर १ अर्ब ५३ लाख २२ हजार ४ सय ६६ रुपैयाँ ७२ पैसा बिगो र कैद सजाय माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुमाथि गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी गरेको आरोप लगाएको छ ।
त्यसैगरी आयात गरेको मल गुणस्तरीय रहेको भनी प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरेको हो ।
साथै मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उक्त कम्पनीलाई भुक्तानी भएको रकमको ९० प्रतिशत हुनेगरी भ्रष्टाचारको आरोपमा विगो कायम गरेको हो । मल खरिदमा तोकिएको स्पेसिफिकेसनभन्दा कम गुणस्तर रहेको, गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रमाणित गरेको लगायत आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्