
काठमाडौं, पुष १८ । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलिका लागि सारिएको हो ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बाहिरिने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा मिलेर चुनावमा जाने तयारीमा छन् ।
प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनुपर्ने चुनौती छ ।
कांग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार–चार सिटमा भने भागबण्डा हुने छैन । एमालेबाट खोस्न मिल्ने ८ सिटमा गठबन्धनबीच भागवण्डाको तयारी छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीति समन्वय समितिले भागबण्डा मिलाउने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्