
काठमाडौं, पुष २० । सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरको रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।
साथै त्यससँग सम्बन्धित कागजात मन्त्रालयमा बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएको छ ।
मन्त्री आलेको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न पत्र काटेको छ । विकास समितिले सञ्चारमाध्यममा आएका समाचारका कारण विवाद भएकाले मन्त्रालयको निर्देशनअनुसार निर्माण कार्य रोक्न आग्रह गरेको हो ।
मन्त्री आलेले कागजात मगाएपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले कागजात मन्त्रालयमा बुझाएको बताइएको छ ।
समितिले नारायणहिटी दरबार संग्रहालयको १० रोपनी जग्गा भाडामा दिएको थियो । बतास कम्पनीले रेस्टुरेन्ट सञ्चालन गर्न सम्झौता गरेको भए पनि सो क्षेत्रफलभन्दा बढी जमिन ओगटेर स्थायी संरचना निर्माण गरेपछि विवाद उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्