
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनुभएको छ ।
पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।
‘जनयुद्धपूर्वदेखि जनयुद्धको १० वर्ष, शान्ति प्रक्रिया, सबै प्रक्रियामा नेतृत्व गर्दै आइरहेको तथा मुलुककै निम्ति अभिभावक र संरक्षकजस्तो नेतृत्व रहेको हुनाले लिडरशीपको सन्दर्भमा उहाँ(प्रचण्ड)कै नेतृत्व स्वभाविक विषय हो’, उहाँले भन्नुभयो ।
उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अन्य लिडरशीपहरूको टिम बनाउने सन्दर्भमा पनि सामूहिक अभिव्यक्तिको केन्द्रिकृत अभिव्यक्ति अध्यक्षबाट नै हुने भएकोले उहाँले नै टिम बनाउनुहुनेछ ।’
नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुंगो लगाउने जानकारी दिनुभयो । उहाँले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेता गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर)को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको नेता गुरुङले बताउनुभयो । दुईबीच सहमति हुन नसके पार्टीका वरिष्ठ नेताहरूमध्ये तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने सहमतिमा जाने उहाँको जानकारी गराउनुभयो ।
नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह गर्नुभयो । उहाँले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्