२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एकादेशको कथा बन्यो नारायणहिटीका नौवटा पूजाकोठा, संरक्षण अभावमा अस्तिस्वविहीन


910
Shares

काठमाडौं । घुम्न आएका पर्यटकबाट संकलित राजश्वले नै मर्मतसम्भार गर्नुपर्ने बाध्यता भएपछि नारायणहिटी संग्रहालयका ऐतिहासिक धरोहर नष्ट हुने क्रममा छ ।

संग्रहालय भित्रका महत्वपूर्ण भवनहरू बजेट अभावका कारण दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । अरु त अरु राजपरिवारले प्रयोग गर्ने पूजाकोठासमेत अस्तित्वविहीन बन्ने खतरामा छ ।

सिंहदरबारबाट सरकारले थालेको प्लटिङ नारायणहिटी दरबारमा पुगेको छ । जमिनको दोहोन गर्ने तर त्यहाँ भएका संरचनाको सुरक्षामा ध्यान नदिने प्रवृत्ति दरबारभित्र यत्र, तत्र, सर्वत्र फस्टाएको देखिन्छ ।

राजसंस्थाको बहिर्गमनसँगै राजा महाराजाहरूले भोग चलन गर्दै आएको ७ सय ५३ रोपनी ८ आना दुई दामको जग्गा खण्ड खण्डमा विभाजित गरिएको छ ।

लाजमर्दो त संग्रहालयभित्रको जग्गाभोग चलन गर्न सरकारी निकायमै प्रतिस्पर्धा छ । जग्गा ओगट्ने तर संग्रहालयभित्रका भवन जीर्णोद्वारमा कसैको आँखा नपर्दा भत्कने खतरा बढ्दो छ ।

यो दरबारभित्रको पूजाकोठा हो । पूर्वराजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरूले यही पूजाकोठामा बसेर पूजा अर्चना गर्थे ।

राजा त्रिभुवनको शासनकालमा बनेकाले यसलाई उनकै नामबाट नामाकरण गरिएको छ । पूजा कक्षका लागि भनेर ९ वटा कोठा छुट्याइएको थियो ।

यही कक्षमा साँझमा राजा महाराजाहरूको नित्य आरती चल्थ्यो । राजसंस्थाको अन्त्यसँगै यहाँ प्रतिस्थापन गरिएका मूर्तिहरू पूर्वराजा ज्ञानेन्द्र शाहले साथमै लगेको बताइन्छ ।

बाँकी रहेका पूजा सामग्री भने सबै भताभुङ्ग अवस्थामा छन् । केही कोठा अझै बन्द अवस्थामा छन् ।

यो कोठा तिथि श्राद्धमा मात्र खुल्ने गथ्र्यो । राजा महाराजा पितृकार्य यही कोठामा सम्पन्न गर्थे । अहिले ती सबै एकादेशको कथा बनेको छ ।

इतिहास सम्झाउने ती चीजवस्तुको संरक्षणमा संग्रहालय प्रशासन चुकेको देखिन्छ । संग्रहालय इतिहासको नासो हो । संग्रहालयमा संग्रहित वस्तुले प्रमाण बोकेर नागरिकलाई चेतना र प्रज्ञा बाँड्ने काम गर्नुपर्छ ।

तर, संग्रहालयको बेथितिले इतिहासमाथि न्याय गरेको देखिन्न । अमूल्य सम्पदाको संरक्षणमा सबैको ध्यान जान जरुरी छ ।