१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


जन्ती बोकेको ट्रयाकटर दुर्घटना, तीनजनाको मृत्यु


0
Shares

बागलुङ, माघ २४ । तीन जनाको ज्यान जाने गरी तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ भएको ट्रयाकटर दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ ।

ग १ त ५७६२ नम्बरको ट्रयाकटर म्याग्दीको मालिका गाउँपालिका–२ बाट तमानखोला गाउँपालिका–१ बोङ्गादोभान जाने क्रममा दुर्घटनामा परेको थियो ।

ट्रयाकटरमा मालिकाका प्रताप पुनको बिहेमा हिँडेका ३५ जन्ती सवार थिए । कच्ची सडकमा ट्रयाकटरमा जन्ती बोकेर चालकले कमजोरी गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले बताए । “चालक, यात्रु दुवै पक्षको लापरवाही देखिन्छ”, उनले भने, “सामान्य सजगता पनि अपनाएको पाइएन ।”

प्रहरीले चालक ३५ वर्षीय रमेश घर्तीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । पैदल जान गाह्रो भएपछि कुखुराको दाना लिन हिँडेको ट्रयाकटरमा जन्ती चढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ट्रयाकटर दुर्घटना हुँदा मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको थियो ।

ट्रयाकटर सडकदेखि करिब ५० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाका तीन गम्भीर घाइतेलाई उद्धार गरी बिहीबार साँझ बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।

घाइतेमध्ये खगेन्द्र पुनलाई बुटवल, मनप्रसाद पुन र गौमाया पुनलाई थप उपचारको लागि पाल्पा अस्पतालमा पुर्‍याइएको छ । तीनै जनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

बाँकी सात जना सामान्य घाइते तमानखोला स्वास्थ्यचौकीमै उपचार गरेर घर फर्केका छन् । मृतकको शव परीक्षणपछि आज परिवारले बुझेको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रिनबहादुर बैदवारले जानकारी दिए ।

दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटेका थिए । रासस