
कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले ठूला राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताउनुभएको छ ।
बिहीबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने पेशा बनाएको आरोप लगाउनुभयो ।
उहाँले राजनीतिकलाई पेशा बनाएकोप्रति आक्रोश पोख्दै कांग्रेस र कम्युनिष्टविरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने बताउनुभयो ।
ठूला दलले मच्चाएको लुटतन्त्र विरुद्ध राप्रपाले कडा प्रतिबाद गर्ने बताउँदै अध्यक्ष लिङ्देनले त्यसविरुद्ध सडक संघर्षमा जान तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । राप्रपामा नेतृत्व परिवर्तन भएजसरी जनमतको कदर गरेर सत्ता परिवर्तन गर्ने उहाँको भनाइ छ ।
देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बदला लिने मौका आउने बताउँदे उहाँले कांग्रेस र कम्युनिष्टको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्