
काठमाडौं । इजरायली सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ ।
बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गर्नुभयो ।
ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरूसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरूको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ ।
‘हाइटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदानप्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताउनुभयो ।
ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिहरूका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरूको जीवन पद्धतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनहरूको अध्ययन आवश्यक रहेको बताउनुभयो ।
इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्