
काठमाडौं । शेरबहादुर देउवा वि.सं. २०५२ अर्थात् सन् १९९५ मा पहिलोपटक प्रधानमन्त्री बन्दा भारतमा प्रधानमन्त्री पीभी नरसिंह राव थिए भने चीनको राष्ट्रपति जियाङ जमिन र प्रधानमन्त्री लि पेङ थिए ।
त्यहि समय पाकिस्तानको प्रधानमन्त्री बेनजिर भुट्टो, बंगलादेशको प्रधानमन्त्री खालिदा जिया र श्रीलङ्काको प्रधानमन्त्री श्रीमाओ बन्दरनाइके थिए । त्यतिबेलै राजनीतिक र विकासको दृष्टिले स्थायित्व भएका मुलुक अमेरिकाको राष्ट्रपति विल क्लिन्टन र बेलायतमा प्रधानमन्त्री जोन मेजरले शासनसत्ता थिए ।
२६ वर्षपछि पाँचौं पटक देउवाले शासनसत्ता चलाइरहँदा उनका समकालिन विश्वका नेताहरू राजनीतिको रिङ बाहिर छन् । नेपालमा भने एउटै व्यक्ति पटक–पटक मुलुकको शासनसत्ता चलाइरहेका छन् । २०४७ सालपछि आएका केन्द्रीय तहमा अधिकांश अनुहारहरू उस्तै भएको राजनीतिशास्त्रका प्राध्यापक पुरुषोत्तम दाहाल बताउनुहुन्छ ।
चारपटकसम्म चुनाव हारेर पाँचौंपटक जितेर आएकाहरु पनि मन्त्री बनेको भन्दै उहाँले नेताहरूमा शक्तिको भोक देख्दा दाहाल अचम्मित हुनुहुन्छ । नेताहरूलाई पटक–पटक चुनाव लड्न मन लागेको देखेर आफू चकित पर्ने उहाँको भनाइ छ ।
कांग्रेस सभापति देउवा त प्रतिनिधि पात्र मात्र हुन् । नेपालको राजनीतिमा एउटै व्यक्ति पटक–पटक पार्टी नेतृत्व र सरकारको नेतृत्वमा दोहोरिने प्रवृत्ति पुरानै हो । मुलुकमा प्रजातन्त्रको पुनर्वहाली भएपछि देउवा पाँच, गिरिजाप्रसाद कोइराला चार, केपी शर्मा ओली तीन, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल दुई–दुई पटक मुलुकको प्रधानमन्त्री भइसक्नुभएको छ ।
पटक–पटक उही व्यक्तिले शासन चलाउँदा मुलुकले नयाँपन पाउन भने नसकेको प्राध्यापक दाहाल बताउनुहुन्छ । ‘नयाँ काम र योगदानको कदर नभइ एउटै व्यक्तिलाई किन शासन सत्ता दिन लालायित हुन्छन् जनता र नेताहरू ?’, उहाँले भन्नुभयो, ‘म आफैँ सोचमग्न भाको छु ।’
एउटै व्यक्ति पटक–पटक शासनको नेतृत्वमा दोहोरिँदा नयाँ पुस्ता अवसरबाट बन्चित भएको गुनासो बढ्दै गएको छ । तर, नेपालको सन्दर्भमा युवापुस्ताबाट पनि अपेक्षाकृत परिणाम आउनेमा प्राध्यापक दाहालको शंका छ ।
‘अनुहार र उमेर नयाँ भएर भएन, नयाँ पुस्ता भनिएका अहिले देखिएका ९० प्रतिशत अनुहार पुरानै अनुहारको निरन्तरता हो,’ उहाँ भन्नुहुन्छ, ‘पुराना अनुहारले चुनाव जित्न र सत्तामा टिक्का लागि जे गरे, त्यो सबै नयाँ भनिएका अनुहारमा स्तानान्तरण भएर आएको छ ।’
नेपालमा राजनीतिलाई आजीवन पेवा र पेशाको रूपमा बनाउने प्रवृत्ति व्याप्त छ । राजनीतिलाई सँधै आफ्नै वरिपरि घुमाइरहने राजनीतिज्ञको मनोविज्ञानका कारण नेपालको राजनीतिले देशको भलो गर्न नसकेको टिप्पणी हुने गरेको छ ।
नेपालको राजनीतिमा बहुआयामिक विकृति छन् । राजनीतिलाई पेशाव्यवसाय बनाउने प्रवृतिका कारण आमनागरिकमा राजनीतिलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन ।
प्रतिक्रिया दिनुहोस्